कक्षा ५ सकियो, सामान्य गाउँले जीवन। कक्षा ६ मा पहिलोपटक "Computer" शब्द सुनियो, पढियो पनि — तर "C" समेत बुझिएन। देख्नु त परको कुरा, कस्तो देखिन्छ भन्ने कल्पना गर्दै दिन बित्थ्यो। कक्षा ७ मा पहिलोपटक साक्षात् कम्प्युटर देख्ने मौका मिल्यो — आँखा चम्किए। कक्षा ८ मा थाहा भयो, यसमा त Software पनि बनाइन्छ रे, आफ्नै भाषा हुन्छ रे। त्यही क्षणमा एउटा सानो सपनाले जरा गाड्यो: "ठूलो भएपछि मैले Software बनाउनुपर्छ।"
त्यही सपना बोकेर Computer Engineering (९-१२) पढ्न पहाडबाट सहर झरियो। तर सहर सजिलो थिएन। अंग्रेजी राम्रोसँग नआउने, सोझो-सिधो पहाडेलाई हेपिने, आफ्नै भाषा र बोलीका कारण थाहै नपाई सानो महसुस गराइने — यस्तो वातावरणमा उभिनु नै ठूलो संघर्ष थियो। धेरै रात एक्लै बसेर सोचिन्थ्यो, "म यहाँ ठीक छु त?" तर हरेक पटक त्यही सानो सपनाले उठाउँथ्यो। यसैबीच केही असल साथीहरू भेटिए, जसले साथ दिए, र म अघि बढ्दै गएँ। JavaScript, C, C++, HTML, CSS — एक-एक गर्दै सिक्न थालियो, आफूलाई एउटा beginner ठानेर।
+2 सकियो। अब Bachelor को यात्रा। ठूलो सहर, महँगो कलेज — मेरो हैसियतले भ्याउने कुरा थिएन। तर सपना मेरो थियो, त्यो कलेजको नामले पूरा गर्ने कुरा थिएन। त्यसैले Kailali Multiple Campus रोजें। त्यहाँ Flutter र Dart सँग चिनजान भयो — एउटै भाषाले Android, iOS, Windows सबैका लागि apps र websites बनाउन सकिन्छ भन्ने बुझ्दा भित्रैदेखि खुसी लाग्यो। C, C++, Java पनि साथसाथै सिकियो।
अब मनमा एउटै कुरा घुम्न थाल्यो — "केही आफ्नै बनाउनुपर्छ, जसले मेरो सपनासँग मेल खाओस्।"
धेरै सोचेपछि थाहा भयो — Far Western University अन्तर्गत ६०-६५ कलेज छन्, २०-२२ Faculty छन्, तर कतै एउटै ठाउँमा सबैका Notes, Papers छैनन्। कोही जुनियर रातभर नोट्स खोज्छन्, कोही सिनियरसँग बिन्ती बस्छन्। त्यही पीडा देखेर एउटा नाम राखियो — **"Farwest Notes"**।
यो कुनै ठूलो कम्पनीको प्रोजेक्ट होइन। यो YouTube हेर्दै, एक्लै कोठामा बसेर, आफ्नै दुई हातले लेखेको कोड हो। थाहा नभई सुरु गरेको यो काम हेर्दा-हेर्दै २ महिना बितिसकेको रहेछ।
अहिले BBA, BBS, BEd का केही, BSc र BSc CSIT का सबै Semester, अनि BIT/BCA का Notes जम्मा भइसकेका छन् — कोही complete, कोही pending, कोही अझै मिलेका छैनन्। तर हरेक रात लाग्ने थकानभन्दा ठूलो छ यो सपना पूरा गर्ने जिद्दी।
अब लक्ष्य छ — दशैंसम्म यसलाई Playstore मा पुर्याउने। user data सुरक्षित राख्ने, कुनै technical समस्या नआओस् भनेर जाँच्दै, जुनियर-सिनियरसँग notes माग्दै अघि बढिरहेको छु।
पहाडको एउटा सानो केटाको आँखामा बसेको सपना आज कोडको भाषामा बोलिरहेको छ। यात्रा गाह्रो थियो, अझै गाह्रो छ — तर रोकिने छैन । यो नै एउटा सानो सपना बन्ने छ मेरो ।
अन्तिममा सहयोग :
यदि तपाईंसँग कुनै Semester को Notes वा Paper छ भने, यो सपनामा एक हात थाप्नुहोस् 🙏

Write An suggestion or Comment: